किमाथाङ्का नाका सञ्चालनमा ल्याइने

आइतबार, वैशाख १०, २०८०

किमाथाङ्का– सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोला सीमा किमाथाङ्का नाका चाँडै सञ्चालन ल्याइने भएको छ । 

आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोलाको किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

किमाथाङ्कानाका सञ्चालनमा ल्याउन परराष्ट्रमन्त्री साउदले प्रतिबद्धता व्यक्त गरेको सङ्खुवासभाका प्रदेशसभा –१ का प्रदेश सदस्य राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री साउदले ध्यानाकर्षण पत्र बुझ्दै किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने बताएका हुन् । 

आइतबार मन्त्रालयमा सङ्खुवासभा जिल्लाका प्रतिनिधिसभा सदस्य दीपक खड्का, प्रदेशसभा सदस्य कार्कीलगायत जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिले चीन सरकारसँग नाका खोल्न पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए । 

परराष्ट्रमन्त्री साउदले नाका सञ्चालन पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको प्रदेशसभा सदस्य कार्कीले बताए । किमाथाङ्का नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले यसलाई प्राथमिकतामा राख्ने परराष्ट्रमन्त्री साउदले बताएका थिए । 

कोरोना महामारीका कारण तीन वर्षदेखि उक्त नाका बन्द रहेको छ । किमाथाङ्का नाका खुलाउन यसअघि प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्