चितवनका २ केन्द्रमा मतदान स्थगित

आइतबार, वैशाख १०, २०८०

चितवन–प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि जारी निर्वाचनमा चितवनमा दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ । भरतपुर–११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालय र भरतपुर–७ को कृष्णपुर मावि मतदान केन्द्रमा मतदान स्थगित भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र अन्य दलका कार्यकर्ताबीच झडप भएपछि दुवै केन्द्रको मतदान प्रभावित भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालयमा मतदानका क्रममा अवलोकन गर्न आएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए । मतदानका क्रममा नाराबाजी गर्नु आचारसंहिता विपरित रहेको भन्दै कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बताए पछि विवाद सृजना भएको थियो । त्यसपछि एकघन्टा मतदान स्थगित भएको थियो ।

उनीहरुले रास्वपाका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान लिएका छन् । माफी नमागेसम्म मतदान कार्य अघि नबढाउने उनीहको अडान छ ।

सर्वदलीय बैठक बसेर मतदान सञ्चालन गर्ने तयारी भइरहेका बेला कांग्रेस र नेकपा एमालेले प्रतिनिधि बस्न मानेका छ्रैनन्  । 

यस्तै, भरतपुर– ७ को कृष्णपुर मावि मतदान केन्द्रमा पनि मतदान स्थगित भएको छ । रवि लामिछानेले भीड जम्मा गरेर मतदानस्थल आएको भन्दै अन्य दलका कार्यकर्ताले अवरोध जनाएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्