काठमाडौँ– बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ काठमाडौंमा सम्पन्न भएको छ ।
एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद दुवै कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । आर्थिक परिसंवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीतिमा विचार, सिद्धान्त, मूल्य र मान्यताको विषय हराउँदै गएको बताएका थिए ।
उपभोक्तावाद र तत्काल नाफा–नोक्सानतिर अघि बढ्दा राष्ट्र र आम जनताको हित प्राथमिकतामा नपरेको उनले बताए । उनले जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा–नोक्सान प्राथमिकतामा परेको उल्लेख गरे । उनले नेपालको मौलिकतामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रो सोचमा स्पष्टताको अभाव छ । हामी जाने कुन बाटो ? नेपाली बाटो । अन्तर्राष्ट्रिय क्षेत्रमा भएका विचार, दर्शन, मूल्य, मान्यता अध्ययन त गर्नैपर्छ । तर, सबैभन्दा बढी नेपालको मौलिकतामा ध्यान केन्द्रित नगरी विदेशमुखी भएका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
विदेशी राम्रो, नेपाली नराम्रो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उनले बताए । अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले देश संघीयतामा गए पनि सिंहदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको बताए ।
‘आम जनतालाई आर्थिक र राजनीतिक क्रियाकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो । तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौँ,” उनले भने ।
नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा मिलाएर बनाएको संविधान भएको उनको भनाइ छ । उनले सबै क्षेत्रको सामूहिक प्रयासले बैंकको ब्याजदर घट्न थालेको बताएका थिए । विभिन्न निकायसँग लगातार अन्तरक्रिया गर्दा ब्याजदर घट्न थालेको र राजस्व संकलन बढ्न थालेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्राको सञ्चिति पनि बढ्दै गएको बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनअपेक्षाअनुरूप अर्थतन्त्र सुधार गर्नु अहिलेको प्राथमिकता र मुख्य एजेन्डा भएको बताए ।
उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनामा आफ्नो अरू एजेन्डा नभएको बताए । उनले आफू जवाफदेही भएर अहिले देखिएको समस्या समाधान गर्न कडा मिहिनेत गरिरहेको उल्लेख गरे । सीमित साधनस्रोतबाट समस्या समाधान गर्न बजेट ल्याउने काम गरिरहेको डा. महतले बताए ।
‘हाम्रा धेरै समस्या छन् । स्रोतसाधन थोरै छन् । गर्नुपर्ने काम धेरै छन् । जनप्रतिनिधिहरूको पनि आफ्नो इच्छा छ । जनताले उहाँहरूसँग माग राखिरहनुभएको छ । नीतिगत व्यवस्थाले भविष्यमा दूरगामी असर पार्छ । त्यसले अर्थतन्त्रलाई सकारात्मक बाटोमा लान सहयोग गर्छ । म एक्लै केही गर्न सक्दिनँ । निजी क्षेत्र र राज्य संरचनाको सहयोग चाहिन्छ । नतिजा आउनका लागि समय लाग्छ । धैर्य गर्न अनुरोध गर्न चाहन्छु,’ अर्थमन्त्री डा. महतले भने ।
अर्थमन्त्री डा. महतले पछिल्लो समय बैंकहरूको ब्याजदर उच्च भएकाले ऋणीहरूमा तिर्न सक्ने क्षमता कम भएको बताएका छन् । यसलाई कसरी कम गर्न सकिन्छ भनेर राष्ट्र बैंकसँग छलफल भइरहेको उनले उल्लेख गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताए । उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
‘अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ । त्यसलाई थेग्ने हो,’ गभर्नर अधिकारीले भने ।
उतारचढावलाई स्वीकार गर्दै व्यवसायी अघि बढेको उनले उल्लेख गरे । अर्थतन्त्रमा भएको असहजतालाई सहजीकरण गर्ने विषय राज्यले सोच्ने उनले बताए । गभर्नर अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताए । लगानीयोग्य रकम बढेकाले उद्योगीलाई ‘फाइनान्सियल रिसोर्स’ अभाव नहुने उनको भनाइ छ ।
‘तपाईंहरू चिन्ता नगर्नुस् । तपाईंहरू ठूला आयोजना निर्माण गर्नुस् । बैंकहरू लगानी गर्ने स्थितिमा छन् । उत्पादनमूलक क्षेत्रमा लगानी बढोस् भन्ने हाम्रो लक्ष्य हो । त्यहीअनुसार नीतिमा सुधार हुन्छन्,’ उनले भने ।
गभर्नर अधिकारीले बैंकहरूसँग दुई खर्ब रुपैयाँ लगानीयोग्य पुँजी रहेको बताए । अर्थतन्त्र बिग्रियो भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
अर्थविद् अच्युत वाग्लेले कार्यक्रममा मुख्य कार्यपत्र प्रस्तुत गर्दै नागरिकले कर तिर्ने वातावरण नभएको बताए । कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले ऋणमा सबैको पहुँच नभएको उल्लेख गरे ।
डा. वाग्लेले नेपालमा ६० प्रतिशत युवामा वित्तीय पहुँच पुगेको बताए । नेपालमा बैंक खाता प्रयोगकर्ताको संख्या सवा चार करोड पुगेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्न नमिल्ने बताएका छन् ।
‘निजी क्षेत्रलाई अख्तियारले हेर्न मिल्दैन । अख्तियार सम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रलाई आयोगको दायरामा ल्याउने कुरा सविधान विपरीत छ,’ अध्यक्ष ढकालले भने ।
संविधानको धारा २३९ अनुसार निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नमिल्ने भन्दै उनले यस विषयमा सरकार र दलहरू संवेदनशील हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रमाथि प्रहार हुँदा अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने उनले बताए । उनले लगानीकर्ता, उद्यमी एवं व्यवसायीमाथि निरन्तर भइरहेको प्रहार चिन्ताको विषय रहेको उल्लेख गरे । निजी क्षेत्र सम्मानित नभए र काम गर्न असफल भए मुलुक अघि नबढ्ने उनको भनाइ छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले ब्याजको लागत घटाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् । उनले समयमै पुँजीगत खर्च गर्नुपर्ने भन्दै कर्जा बढ्दा समस्या परेको बताए ।
‘बैंकलाई बाँध्नेखालका नीति लिइहाल्नु हुन्न । बैंकको नाफा उत्साहजनक छैन । खराब कर्जा बढेकाले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा चुनौती छ,’ उनले भने ।
नेपाल उद्योग परिसंघ (सिएनआई)का उपाध्यक्ष राजेश अग्रवालले पछिल्ल्लो समय उद्योगी–व्यवसायी निराश रहेको बताएका छन् । नीति तथा कानुन उद्योगीलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने उनले बताए ।
सञ्जयले जिते सुनको बल
शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि सञ्जय पौडेलले जितेका छन् । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको यस प्रतियोगिताको विजेताले सुनको बल पुरस्कार जितेका छन् ।
काठमाडौंको गोकर्ण गल्फ क्लब सम्पन्न प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ‘टी–अफ’ गरेर उद्घाटन गरेका थिए ।
१८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोडेका थिए । १२ ह्याण्डीक्यापमा खेलेका सञ्जयले फ्रान्ट नाइन १९ अंक जोडेका थिए भने ब्याक नाइनमा २१ अंक जोडेका थिए ।
उपाधि जित्ने सञ्जय र टासी छिरिङले समान ४० अंक जोडेका थिए । जसमा सञ्जयले ब्याक नाइनमा जोडेको २१ अंकले टासिलाई उपाधिबाट पन्छाउन सफल भए । टासी छिरिङले ब्याक नाइनमा १८ अंकमात्र जोड्न सफल भएका थिए ।
यससँगै जिरो ह्याण्डीक्यापमा खेल्ने टासी छिरिङ ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि जिते । टासीले मोष्ट बर्डीको उपाधि पनि जितेका छन् । टासीले ६ बर्डी प्रहार गरेका थिए ।
पुरुषतर्फ बाबु शेर्पाले दोस्रो स्थान हासिल गरे । बाबुले ३८ अंक जोडेका थिए । प्रतियोगितामा डा. भगवान कोइरालाले ३७ अंक जोडेर सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते ।
महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । कश्मिरा शाह दोस्रो भइन् । कश्मिराले ३३ अंक जोडेकी थिइन् ।
क्लोजेष्ट टु द पिनको उपाधि राज प्रधानले जिते । दशौँ होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी जित्न राज दुई इन्चले चुकेका थिए । लङ्गेष्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जिते । उनले ३१० यार्डको ड्राइभ प्रहार गरेका थिए ।
प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज र केही विदेशीसहित ११४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ७ महिला र १०७ पुरुष गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
विजेता गल्फरलाई प्रधानसेनापति प्रभुराम शर्मा, गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध सम्पादक ज्ञानेश्वर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।