योजना आयोगले पूर्णता पाउँदै, ३ सदस्य थपिए 

शनिबार, वैशाख ९, २०८०

काठमाडौँ– आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीनजना सदस्य नियुक्ति गरेको छ । 

स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका प्राडा आरपी विछा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर पूर्वाधार, समग्र अर्थतन्त्र, व्यापार, शिक्षालगायत विभिन्न विधामा अध्ययन अनुसन्धान गर्दैै आएका अर्थशास्त्री डा रमेशचन्द्र पौडेललाई आयोगको सदस्यमा नियुक्त गरेको सरकारले जनाएको छ । 

त्यसैगरी अर्का नियुक्ति पाउने सदस्यमा प्रभु बुढाथोकी पनि छन् । यद्यपि, उनी हाल काठमाडौँबाहिर रहेकाले सपथग्रहण हुन सकेन ।  

अष्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सह प्राध्यापक साथै सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख भएर काम गरिरहेका छन् । नयाँ सदस्यको नियुक्ति सँगै प्रभावकारी रुपमा नीतिगत साथै समग्र रूपमा राष्ट्रिय योजना तथा कार्यक्रमहरूको सुक्ष्म समीक्षा गरी अगाडि बढ्ने विश्वास योजना आयोगले जनाएको छ ।

No description available.

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा मीनबहादुर श्रेष्ठलाई यसअघि नै नियुक्त गरिसकेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको व्यस्ततामा रहेको सरकारले आयोगका तीनजना सदस्य शुक्रबारमात्र थप गरेको हो ।

थप गरिएका मध्ये दुईजना सदस्यको शुक्रबार शपथग्रहण कार्यक्रम सम्पन्न भएको योजना आयोगले जानकारी दिएको छ । सरकारले यसअघि नै डा रामकुमार फुयाल र डा जयकान्त राउतलाई योजना आयोगको सदस्यमा नियुक्त गरिसकेको छ । आयोगको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्