२ वटा सहकारीबाट १४ करोड लिएर अध्यक्ष फरार, सञ्चालक न्याय खोज्दै

शुक्रबार, वैशाख ८, २०८०

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ मा रहेको एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ लिएर फरार भएपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भइ बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड रुपैयाँ लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार सहकारीको करिब पाँच करोड रुपैयाँ अपचलन भएको छ । 

त्यही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको ६५ लाख रुपैयाँ र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाखसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको नौ करोड रुपैयाँ गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएका पीडितको निवदेनमा उल्लेख छ । 

गौतमका साथै त्यस सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ साल पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिइ कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ । 

पीडितले हेटौँडामा रहेको बाग्मती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । त्यही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्