आन्तरिक राजस्व विभागलाई अर्थमन्त्रीको प्रश्न– ठूला करदाताले बुझाउने कर किन कम भयो ?

बिहीबार, वैशाख ७, २०८०

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण मतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।

‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो,’ अर्थमन्त्री डा. महतले भने ।

उनले विभिन्न परिस्ठितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको बताए । गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि कम देखिएको उनको भनाइ छ ।

राजस्व कम संकलन हुनुको सम्पूर्ण दोष राजस्वका कर्मचारीको नभइ राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारी जस्ता कारणले भएको उनले बताए ।

‘यी तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस्,’ अर्थमन्त्री डा. महतले भने ।

उनले बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको बिकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परीक्षकको कार्यालयले ‌प्रतिबेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरुरी भएको पनि बताए । उनले ठूला करदाताले बुझाउने कर किन कम भयो भनेर प्रश्न पनि गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्