आठ वर्षसम्म प्रयोगमा आएन मनाङको हुम्दे विमानस्थल

बुधबार, वैशाख ६, २०८०

मनाङ– हिमालपारीको जिल्ला मनाङमा पक्की धावनमार्ग बनेको ७ वर्षपछि २०७६ भदौ २७ गते हिमाली जिल्ला मनाङमा जहाज पुग्यो । त्यसपछि मनाङमा हालसम्म जहाज अवतरण भएको छैन । 

करोडौँ रुपैया खर्चेर ८ वर्षअघि नै स्तरोन्नति र कालोपत्रे गरी बाह्रै महिना जहाज अवतरण गर्न सकिने हुम्दे विमान स्थलमा पछिल्ला वर्षमा सरकारी तवरबाट वा व्यवसायिक हिसावले कुनैपनि जहाज अवतरण नभएको स्थानिय छिरिङ गुरुङले बताए ।

‘सडक सञ्जालले जोडिएको भन्दै कतिपय वायु सेवा प्रदायक कम्पनीले उडान नभरेकाले आवतजावतमा स्थानीयले सास्ती भोग्नुपरेको छ,’ उनले भने ।

नियमित उडान भए मनाङ पुगेका पर्यटक केही दिनको बसाईपछि थोराङपास पुगेर मुस्ताङको जोमसोम हुदै पोखरा फर्कन सक्ने भएकाले विमानस्थलको ठुलो महत्व रहेको गुरुङको भनाइ छ ।

नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९/७० मा ९ करोड रुपैयाँ खर्च गरेर धुले धावनमार्गलाई बिस्तार गरी कालोपत्रे गरेको विमानस्थल प्रयोगविहिन बनेको छ । ६ सय मिटरको धावन मार्ग ९ सय मिटर बनाइएको छ । धावनमार्ग कालोपत्रे भएपछि तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारी चढेर मंसिरमा धावनमार्गमा जहाज परीक्षण गरिएको थियो । 

कालोपत्रे भएको २ वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरे पनि त्यसयता कुनै पनि जहाज मनाङ आएको छैन । तीन वर्ष अगाडी एउटा ट्वीनेटर जहाजले चार्टर उडान भरेको थियो । पछिल्लो समय २०७८ पुस २४ र असार २० मा जहाज उडाउने तयारी गरिए पनि सफल भएको थिएन । 

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले हुम्दे हवाई मैदान नेपालकै सुन्दरमध्ये एकमा पर्ने बताए । राम्रो र सुन्दर ठाउँ भए पनि जहाज नआएको ७ र ८ वर्ष भएको उनको गुनासो छ ।

२ ०७० देखि हुम्दे विमानस्थल बन्द थियो । त्यतिबेला निगमले तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीहरू ल्याएर मंसिरमा हवाईजहाज परीक्षण गरेको थियो । विमानस्थलको धावनमार्ग मर्मत र कालोपत्रे भएपछि हरेक महिना विमान भर्ना सकिने बताएको थियो । 

त्यसयता वायुसेवा निगमको जहाज मनाङ पुगेकै छैन । कालोपत्रे गर्नुअघि वायु सेवा निगमले सातामा २ पटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भरेको थियो । हरेक वर्ष असार १६ र पुस १६ देखि मौसममा आएको खराबीका कारण २ र २ महिना सूचना जारी गरेरै हवाई उडान स्थगित गर्दै आएको थियो । 

विमानस्थल ३ हजार ३ सय ३० मिटर उचाइमा अवस्थित छ । पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा २५ मिनेट लाग्छ । हुम्डेमा ०३९ असोजबाट उडान सुरु गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्