महासंघका नवनिर्वाचित पदाधिकारीले भेटे अर्थमन्त्री, मिलेर काम गर्ने डा. महतको आश्वासन

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।

वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएपनि सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए । 

‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ । देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ । समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ,’ अर्थमन्त्री महतले भने ।

उनले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको स्वीकार गर्दै अव सबै पक्षसँग सहकार्य गरेर प्रभावकारी रुपमा अघि बढ्ने बताए ।

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौति छ । हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन,’ अर्थमन्त्री डा. महतले भने ।

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको उनको भनाइ छ । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ सँगसँगै लैजानु पर्नेमा उनले जोड दिए ।

राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार