टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगइ अघि बढ्दैन : सचेतक बर्तौला

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने बताएका छन् ।

सोमवार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । नेकपा एमाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै टुंगोमा पु¥याउनुपर्छ भन्ने पक्षमा रहेको र अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउन नसक्ने गरी मात्रै ऐन बनाउनुपर्ने अडानमा रहेको उनको भनाइ छ ।

सचेतक बर्ताैलाले संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक राष्ट्रको साझा विषय भएको उल्लेख गर्दै विधेयकमा रहेका कतिपय कन्टेनहरुमा विस्तृत छलफल गर्न आवश्यक रहेको धारणा राखे । एक महिनाको समय लिएर भएपनि परिपक्व ऐन बनाएर मात्रै अघि बढ्नुपर्नेमा उनको भनाइ छ ।

‘टिआरसीसँग सम्बन्धित विषय, विषयगत समिति पनि तत्काल बनाउने बारेमा छलफल भएको छ । टिआरसी राष्ट्रको साझा विषय हो । हामी छिटो गर्नुपर्छ भन्नेमा छौँ । हामीले अन्तर्राष्ट्रिय मानवअधिकारलाई हेरेर कानून बनाउनुपर्छ, त्यसमा हामीले स्वीकारेका छौँ, पीडितहरुलाई न्याय दिने बारेमा बुझेर मात्रै कानून बनाउनुपर्छ । सत्यको राम्रोसँग अन्वेषण गरेर मात्रै कानून अघि बढाउनुपर्छ । १ महिना ढिलो गरौँ तर परिपक्व ऐन बनाएर अघि बढौँ,’ उनले भने ।

सचेतक बर्तौलाले आजको बैठकमा प्रमुख तीन राजनीतिक दलहरुका बीचमा संसदीय गतिविधिमा सहमति गरेर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए ।  

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्