उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले सम्हाले पदभार

आइतबार, वैशाख ३, २०८०

काठमाडौं –नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हालेका छन् ।

काठमाडौंको टेकुस्थित महासंघको कार्यालयमा ढकालले पदभार सम्हालेका हुन् । ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गरेका थिए । पदभार ग्रहण पछि अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताए ।

मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने बताउँदै उनले राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने बताए । ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दबाब दिने पनि बताए ।

त्यस्तै महासंघका निवर्तमान अध्यक्ष गोल्छाले आफूले नयाँ अध्यक्षलाई सदैव साथ र समर्थन रहने प्रतिवद्धता जनाए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७ औं साधारणसभा मार्फत ढकाल २० औं अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्