परराष्ट्रमन्त्रीमा कांग्रेस नेता साउद, भोलि शपथग्रहण

शनिबार, वैशाख २, २०८०

काठमाडौं- नेपाली कांग्रेस नेता एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो । 

साउदलाई आइतबार प्रधानमन्त्री दाहालले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य रहेका साउद यसअघि सिँचाईमन्त्री बनेका थिए । कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

सभापति देउवाले पाँचौं मन्त्री पनि आफ्नै समूहबाट पठाउन लागेका हुन् । यसअघि उपप्रधानसहित ४ मन्त्री कांग्रेसले दाहाल नेतृत्वको सरकारमा पठाइसकेको छ ।

सरकार विस्तार लगायतका विषयमा छलफलका लागि शनिबार बिहान प्रधानमन्त्री दाहाल, सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले मन्त्रीहरुको नाम छिटो दिन देउवालाई आग्रह गरेका थिए । तर, अध्यक्ष नेपालले पनि थप १ मन्त्रालय आफ्नो पार्टीलाई चाहिने अडान राखेका थिए । 

 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्