मध्यपश्चिम विश्वविद्यालयद्वारा २५ विज्ञ प्राज्ञ नियुक्त

शुक्रबार, वैशाख १, २०८०

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधि तथा महाविद्यावारिधि गरेका २५ विज्ञ प्राज्ञ नियुक्त गरेको छ । विश्वविद्यालयले शुक्रबारवीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी प्राज्ञ नियुक्तिका साथै संस्थागत नमूना तथा सम्बन्धनसम्बन्धी कार्यविधि, २०७९ को बारेमा जानकारी गराएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले विज्ञापनमार्फत प्राज्ञहरूको नियुक्ति गरिएको बताए । उनले २५ विज्ञ प्राज्ञको नियुुक्ति विशेष प्रकृतिको करारबमोजिम परियोजनामा आधारित स्रोतबाट तलब सुविधा भुक्तानी हुने भएकाले विश्वविद्यालयको नियमित सञ्चालन खर्चमा अतिरिक्त भार नपर्ने प्रष्ट्याए ।

उनले भने, ‘प्राज्ञ नियुक्तिले खर्चमा अतिरिक्त भार पर्दैन बरु उल्टै अनुसन्धान परामर्शलगायत क्रियाकलापबाट अतिरिक्त आयआर्जनमा योगदान हुने प्रष्ट छ । उनीहरूद्वारा ग्र्याजुएट स्कुलअन्तर्गतका प्राध्यापकज्यूहरूको अनुसन्धान तथा कृति प्रकाशन कार्यमा थप बल पुग्न गई समग्र विद्यार्थीले प्राप्त गर्ने शिक्षा, ज्ञान र सीपको गुणस्तरमा सुधान हुने आशा गर्न सकिन्छ ।’

मध्यपश्चिम विश्वविद्यालयले ग्र्याजुएट स्कूल अफ म्यानेज्मेन्ट डिनको कार्यालयअन्तर्गत एमफिल–पिएचडी कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालनमा ल्याएको र हालसम्म एमफिलतर्फ ५७ र पिएचडीतर्फ आठ स्कलरले अध्ययन, अनुसन्धान गरिरहेको उनले बताए ।

विश्वविद्यालयका अन्य ६ वटा ग्र्याजुएट स्कूलअन्तर्गत एमफिल–पिएचडी कार्यक्रम हुन नसक्दा यहाँका करिब दुई सयभन्दा बढी प्राध्यापक एमफिल–पिएचडीको अध्ययन अनुसन्धानको अवसरबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गरी गरिएको विज्ञापनबाट अध्ययन तथा अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने रजिष्ट्रार पौडेलको भनाइ थियो । 

उनका अनुसार विश्वविद्यालयको सम्बन्धनसम्बन्धी व्यवस्थाले देशका विभिन्न भूभाग र विशेषगरी कर्णाली प्रदेशमा विभिन्न विषयमा अध्ययन गराउन इच्छुक सामुदायिक, निजी तथा सहकारीमा आधारित सङ्घरसंस्थालाई भिन्नभिन्न विषयका कार्यक्रम सञ्चालन गरी देशभरिका विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने अवस्था सिर्जना हुने र त्यसले राष्ट्रको योगदान पु¥याउने उद्देश्य राख्दछ । विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनले विद्यार्थी सङ्ख्या बढ्ने र त्यसले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापनमा स्तरवृद्धि हुने जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार