Nic Ad Nic Ad
Nic Ad Nic Ad

ढाकाकुमारबारे रवि– पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि कारबाही गरिएको हो

बिहीबार, चैत ३०, २०७९

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए । 

गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो । ‘मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्दान्तिक मतभेद होला, तर मुलुकका साझा एजेण्डामा दलबीच फरक मतभेद हुनुहुँदैन,’ उनले भने, ‘अहिले वादविवाद गर्ने, झै–झगडा गर्ने बेला नभइ देशको विकासका लागि जुट्ने बेला हो ।’

रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको सभापति लामिछानेले बताए । नागरिकका आम समस्या समाधानमा आफूहरू लागिरहेको भन्दै उनले भने, ‘देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ।’

उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे । ‘सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ,’ उनले भने । राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सधै विरोध गर्ने उनको भनाइ थियो ।

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरे । उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए । 

तीनवटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाए । ‘तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ,’ उनले भने । -रासस
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्