रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दवासिनीलाई सांसद बनाउने

बुधबार, चैत २९, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद डा‍.ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णयसमेत गरेको छ ।

बुधबार बसेको पार्टी बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि रास्वपाले उनको ठाउँमा समानुपातिक सुचीमा रहेकी विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय  गरेको हाे ।

श्रेष्ठलाई कारबाही गरेसँगै रास्वपाले उनको स्थानमा कंसाकारलाई सांसद बनाउने निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । श्रेष्ठले आफ्नो अडियो भएको स्वीकार नगरेपनि पार्टीले छानविन गर्दा श्रेष्ठकै अडियो प्रमाणीत भएको बैठकपछि अयोजित पत्रकार सम्मेलनमा लामिछानेले बताए ।

रास्वपाले पार्टी विधानकाे धारा ५६(४) बमाेजिम डा‍.श्रेष्ठको साधारण सदस्यता खारेज गरेकाे बताएकाे छ । 

त्यसअघि बैठकबाट बाहिरिदै श्रेष्ठले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्र स्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । श्रेष्ठले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताए । श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको उल्लेख गरेका छन् ।

श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो गत आइतबार सार्वजनिक भएको थियो । उक्त सम्वादमा श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए । 

अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उनले प्रसाईंसँगको अडिओ सम्पादन गरिएको दाबी गरेका छन् ।

 

raswapa_nirnaya1681310097.jpg

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्