रास्वपाद्वारा ढाकाकुमारको साधारण सदस्यता खारेज, सांसद पद खारेज हुने

बुधबार, चैत २९, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ । 

बुधबार बसेको पार्टी बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो ।  रास्वपाले पार्टी विधानकाे धारा ५६(४) बमाेजिम डा‍.श्रेष्ठको साधारण सदस्यता खारेज गरेकाे बताएकाे छ । 

पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि खारेज हुने भएको छ ।

श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो गत आइतबार सार्वजनिक भएको थियो । उक्त सम्वादमा श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए । 

अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उनले प्रसाईंसँगको अडिओ सम्पादन गरिएको दाबी गरेका छन् ।

आजै पत्रकार सम्मेलन गरेर श्रेष्ठले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्र स्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्