‘ए’ डिभिजन लिग : एनआरटीविरुद्ध संकटाको जीत, ८ खेलमा १२ अंक जोड्यो

बुधबार, चैत २९, २०७९

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २२ औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६२ औं मिनेटमा एनआरटीका निकोलस सेर्जी सङले गोल गरेपनि संकटा २–१ ले विजयी भयो । जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । एनआरटीले ८ खेलमा ६ अंक जोडेको छ । 

त्यस्तै, बुधबार च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई ५–३ गोल अन्तरले पराजित गरेको छ ।  खेलको आठौं मिनेटमा सुदिप श्रेष्ठले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा सत्यम शर्माले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । २८ औं मिनेटमा सत्यमले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई ३–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई ३–१ को स्थितिमा ल्याए । खेलको ४७ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपीएफलाई ३–२ को स्थितिमा ल्याए । खेलको ६३ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई ३–३ गोलको बराबरीमा ल्याए । खेलको ७५ औं अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई ४–३ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई ५–३ को जित दिलाए । हिमालयन ८ खेलमा ९ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ । एपीएफ ८ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्