ढाकाकुमार अडियो प्रकरणबारे रास्वपाले आजै निर्णय गर्ने 

बुधबार, चैत २९, २०७९

काठमाडौँ– आफ्ना निलम्बित सांसद ढाकाकुमार श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आज निर्णय गर्ने भएको छ ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले छानबिन गरेर मंग्लबार प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार बनाएर पार्टीले आजै निर्णय गर्ने रास्वपाले जनाएको छ ।

सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग मन्त्री बन्न दुई करोड रुपैयाँ चाहिने भन्दै मागेको अडियो संवाद बाहिरिएको थियणे ।

रास्वपा सभापति रवि लामिछानेले श्रेष्ठको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए । निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा काम गरेको छ ।

समितिले अडियोमा रहेको आवाज श्रेष्ठकै रहेको विश्लेषण गरेको छ । यद्यपि समयाभावका कारण अडियोको फरेन्सिक टेस्ट गरिएन । फरेन्सिक टेस्टको प्रक्रियामा जाँदा समय लाग्न सक्ने भएकाले त्यसलाई थाँती राखिएको बताइएको छ ।

यता, श्रेष्ठले भने अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन् । उनले पार्टीलाई पठाएको स्पष्टीकरणमा पनि अडियो सम्पादित रहेको उल्लेख गरेका थिए । 


 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्