फागुन ४ पछि आज पहिलोपटक मधेसको प्रदेशसभा बैठक बस्दै

सोमबार, चैत २७, २०७९

काठमाडौँ– मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभा  सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुरानो बक्यौता रकमबारे पनि कार्यसूची रहेको छ । 
बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउनका  लागि उपसभामुख बबिता राउतको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । उपसभामुख राउतले भने राजीनामा दिइसकेका छन् । त्यसपछि सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो । 

सो समितिको राजीनामा र नयाँ संयोजकको चयनको विषयमा समेत प्रदेशसभाको बैठकमा निर्णय हुने बताइएको छ । समितिको म्याद सकिएकाले बैठकबाट त्यसको निर्णय गरिनेछ । सचिव यादवले  सरकारले खेलकुदसम्बन्धी विधेयक प्रदेशसभामा पठाएको जानकारी दिए ।

विभिन्न छवटा विधेयक तयारी अवस्थामा रहे पनि विभिन्न मन्त्रालयको ढिलाइका कारण प्रदेशसभामा पेश हुन नसकेको बताइएको छ । मुख्यसचिवको अनुपस्थिति र सरुवाले पनि विधेयकलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन समस्या देखिएको बताइएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्