नयाँ वर्षको दिन बन्दिपुरको होटलमा १ रुपैयाँमै रुम,  घुम्न जाने हैन त !

आइतबार, चैत २६, २०७९

तनहु - ‘पहाड कि रानी’ उपनामले परिचित बन्दिपुर पर्यटकहरूका लागि निकै नै लोकप्रिय गन्तव्य बनेको छ।

बन्दिपुरमा नयाँ वर्ष (वैशाख १) को दिन होटलहरूका पहिलो पाहुनालाई एक रुपैयाँमै रुम दिइने भएको छ । नयाँ वर्षमा त्यहाँका होटलहरूले एक रुपैयाँमै रुम चेक इन गर्न दिने भएको हो ।

त्यहाँ पुगेका पाहुनाहरूलाई नयाँ वर्षको दिन जुनसुकै होटलमा पहिले चेक इन गरेमा एक रुपैयाँमै रुम उपलब्ध गराइने बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताए  । 

अन्य पाहुनाहरूलाई पनि होटलहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेको उनको भनाइ छ । 

बन्दीपुरमा दिनहुँ सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको स्थानीयहरू बताउँछन् । ‘पहाडकी रानी’ उपमाले चर्चित बन्दीपुर २०२५ सालसम्म तनहुँ जिल्लाको सदरमुकाम थियो । 

व्यापारिक केन्द्रका रुपमा स्थापित भएकाले चहलपहल निकै थियो । तर सदरमुकाम दमौलीमा सरेसँगै त्यहाँका बहुसंख्यक नेवारहरू अन्यत्र जान थाले । र, विस्तारै बन्दीपुर सेलाएर ‘भूताहा शहर’ जस्तो बन्दै गयो । तर पछि बाहिर रहेका बन्दीपुरेहरूले आफ्नो सुन्दर र रमणीय गाउँलाई व्युताउने अभियानमा लागे । त्यसैको उपज हो अहिलेको बन्दीपुर, जो आन्तरिक तथा बाह्य पर्यटकको विशेष रोजाइमा पर्ने गरेको छ । 

पृथ्वी राजमार्गमा पर्ने डुम्रेबाट ८ किलोमिटर दूरिमा रहेको बन्दीपुर बजारमा अहिले जताततै ढुंगा विछ्याईएको छ । धुलोधुवाँरहित वातावरण पाइन्छ । चिसो र स्वच्छ हावाले टिबीका किटाणुहरू निर्मुल पार्ने भएकाले पहिले–पहिले विभिन्न स्थानबाट रोग निको पार्न रोगीहरू आउने गरेको स्थानीय राजु बानिया बताउँछन् । 

bandipur11681040658.jpg

बन्दिपुरमा हाल दर्जनौ भन्दा बढी होटल र होमस्टेहरू संचालनमा छन् । चारैतिर सफा छ । र, सबैभन्दा आकर्षणको केन्द्र त्यहाँबाट सुन्दर दृश्यहरू अवलोकन गर्न पाइन्छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृंखलाहरुको मनोरम दृश्य देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरूले जो कसैको पनि मन लोभ्याउँछ । त्यस्तै टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, महालक्ष्मी मन्दिर पनि पर्यटकको गन्तव्य वनेका छ्न ।

बन्दीपुर पुगेपछि एसियाको सबैभन्दा ठूलो गुफा दाबी गरिएको सिद्धगुफाको अवलो समेत गर्न पाइन्छ । प्याराग्लाइडिङको आनन्द लिन पाउनुका साथै स्थानीय नेवार र मगर समुदायको कला(सस्कृतिको स्वाद लिन पाइन्छ ।

bandipur 21681040677.jpg

बन्दीपुरको पर्यटन र चौतर्फी विकासका लागि लामो समयदेखि स्थानीयहरू सक्रिय रहँदै आएका छन् । विसं २०४९ सालमा शिक्षाविद चिजकुमार श्रेष्ठको अगुवाईमा काठमाडौँमा स्थापना गरिएको बन्दीपुर सामाजिक विकास समितिले बन्दीपुरको कायापलट गर्न सहयोग गर्यो । गाउँको शिक्षा, पर्यटन र विकासका लागि विभिन्न अभियानहरू संचालन भए । अहिले सबैको आकर्षणको केन्द्रमा परेको छ बन्दीपुर ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार