नेभिगेशन
अर्थ विविध

गाईभैंसीमा ‘लम्पि स्किन’ समस्या

इलाम–गाईभैंसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’ रोगविरुद्ध नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको बताउँदै  यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे ।

‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले बताए ।

उनका अनुसार किर्ना, भुसाना, झिंगा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ ।

उनले भने, ‘रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो । हालसम्म प्राप्त जानकारी अनुसार हाम्रो नगरपालिकामा पाँच पशु मरेका छन् । संक्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने र किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ ।’

गत वर्ष छिमेकी जिल्ला झापामा समस्या बनेको सो रोग यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखापर्न थालेको थियो । सुरुमा इलामको रोङ गाउँपालिकामा देखापरेको रोग अहिले जिल्लाका माईजोगमाई, सन्दकपुर लगायतका अन्य थुप्रै पालिकामा समेत फैलिएको छ । माईजोगमाईका पशु किसान कुमार थापाको लैनो गाईमा उक्त रोग देखापरेपछि छिमेकीका पशुमा समेत देखापरेको थियो ।

उनले भने,‘यो हावाको माध्यमबाट सर्दो रहेछ। कोरोनाकालमा मान्छे मर्ने त्रास थियो । अहिले गाई मर्ला कि भन्ने पीर बढ्यो ।’

दिनको १८ लिटर दूध दिंदै गरेको गाईमा रोग आएपछि आधा उत्पादन घटेको उनको भनाइ छ । यो रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरनका लागि लैजान नहुने, अन्य वस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने र गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुन सक्ने चिकित्सक भुपाल पोख्रेलले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

सुनसान बने ‘होमस्टे’