त्रिभुवन विमानस्थल पुनर्संरचना प्रस्ताव १५ दिनभित्र प्रस्तुत गर्न गृहमन्त्रीकाे निर्देशन

शनिबार, चैत २५, २०७९

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

शनिबार उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन तथा गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

अनुगमनको क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलको महत्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे बताएका थिए । यसक्रममा गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहितका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधि र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्वपूर्ण ठाउँ भएको भन्दै त्यसमा कमजोरी गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताएका थिए ।

साथै, विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुन अध्यागमनका कर्मचारीलाई उनले निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्