बारामा जसपाले एमालेलाई सहयोग गर्नुपर्छ : महासचिव पोखरेल

शनिबार, चैत २५, २०७९

बारा–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बारा–२ को उपनिर्वाचनमा जसपाले एमाले उम्मेदवारलाई जिताउने पालो आएको बताएका छन् । उनले उपनिर्वाचनमा एमालेलाई सहयोग गर्नुपर्ने जसपाको कर्तव्य भएका बताएका हुन् ।

बारामा शनिबार आयोजित चुनावी सभामा महासचिव पोखरेलले गत निर्वाचनमा जसपासँग चुनावी तालमेल गरेर एमालेले जसपाको रक्षा गरी दिएको हुँदा अहिले एमालेलाई सहयोग गर्ने कुराबाट भाग्न नहुने तर्क गरे ।

‘यसपटकको उपनिर्वाचनमा बारा–२ मा एमालेलाई सहयोग गर्नुपर्ने जसपाको कर्तव्य हो, उपेन्द्र यादवजी बारा आउनुहुँदैनथ्यो । एमालेलाई सहयोग गर्ने कुराबाट भाग्न हुँदैनथ्यो’, महासचिव पोखरेलले भने ।

गत निर्वाचनमा जसपासँग तालमेल गर्दा उपेन्द्रजीलाई सप्तरी–२ मा उम्मेदवार नबन्नुस्, अन्य निर्वाचन क्षेत्रबाट लड्नुस्भन्दा नमानेका कारण पराजित भएको उनले दाबी गरे ।

महासचिव पोखरेलले भने, ‘पराजित भएको व्यक्ति पाँचबर्ष जनताको सेवा गरेर बस्नुपर्नेमा बर्षदिन नपुग्दै उपनिर्वाचनमा उम्मेदवार हुनु भएको छ, एउटा नेताले गर्ने काम होइन यो ।’

पोखरेलले तराई मधेशका धेरै नेता पटक पटक मन्त्री हुँदा काठमाडौंमा उनीहरूका महल बने तर तराई मधेशको अवस्था जस्ताको तस्तै रहेको विगत स्मरण गर्न पनि मतदातालाई आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्