पञ्जीकरण विभागका महानिर्देशकलाई प्रश्नः आमाको साटो मामाको थर किन चाहियो ?

शुक्रबार, चैत २४, २०७९

काठमाडौँ– अहिले सामाजिक संजालदेखि सार्वजनिक संचारमाध्यमहरुमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको एउटा परिपत्रले धेरै चर्चा पाएको छ । 

विभागले चैत २२ गते सबै स्थानीय पञ्जिकाधिकारी (६७४३) वडा कार्यालयहरुलाई परिपत्र गर्दै ‘एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा’ गर्नुपर्ने व्यवस्था खुलाएर पठायो ।

सबै जिल्ला प्रशासन कार्यालय र इकालका प्रशासन कार्यालयलाई बोधार्थ दिइएको सो परिपत्रमा जम्मा ४ बुँदा छन् । एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्म दर्ता गर्ने विषयमा थप प्रष्ट पािरदिन विभिन्न स्थानीय तहहरुबाट अनुरोध भइ आएको सम्बन्धमा दोहोरो दर्ता नहुने गरी भन्दै विभागले ४ बुँदे परिपत्र गरेको थियो ।

सो परिपत्रको पहिलो बुँदामा विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने भनिएको छ ।

यस्तै, दोस्रो बुँदामा विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीम बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने भनिएको छ ।

तेस्रो बुँदामा भने प्रकरण १ र २ अनुसार बच्चाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगाना पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियम अनुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिने भनिएको छ ।

र, बुँदा नम्बर ४ मा प्रकरण १ र २ बाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संसोधनसहित), २०७७ र विभागको यसअघिका परिपत्र अनुसार गर्ने भनिएको छ ।

अहिले विवादमा आएको विषय प्रकरण १ र २ मा भनिए जस्तो अवस्थाका बच्चाको हकमा आमाको थर स्वीकार नगरेर मावलीको थर किन खोजियो भन्ने छ । जन्म दिने आमाको थर स्वीकार नगरेर मावलीको थर खोज्नु महिलामाथि विभेद गर्ने पितृ सत्तात्मक सोच हो भनेर आरोप पनि लगाइएको छ ।

aama-mama1680869838.jpg

आखिर विभागले आमाको साटो मामाको थर किन खोज्यो त ? यो प्रश्न हामीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितसँग गरेका छौं । उनले सरकारी निकायको काम कानुनको पालना गर्ने र सामाजिक मूल्य मान्यतामा खलल नआउने गरी अघि बढ्नुपर्ने वाध्यता रहेको बताए ।

पण्डितले सिएन नेपालको सो प्रश्नमा यस्तो बताएका छन्ः

हिन्दु सस्कृतिमा विवाह गरेपछि महिलाको थर र गोत्र परिवर्तन हुन्छ । पहिला पहिला अधिकांश महिलाले विवाह गरेपछि पतिको थर उल्लेख गरेर नागरिकता बनाउने चलन थियो । अहिले पनि कतिपय महिलाले विवाहपछि पतिको थरबाट नै नागरिकता बनाउने गरेका पनि छन् । 

तर, हामीले परिपत्र गरेको विवाह अघि बच्चा भएका महिलाको हकमा हो । हाम्रो संस्कार र व्यवहारको कारण विवाहअघि अर्थात बच्चा जन्माउने बेलामा आमाको एउटा थर हुन्छ । र, विवाहपछि अर्थात त्यही बच्चाको जन्म दर्ता गर्ने बेलामा आमाको अर्काे थर हुन्छ । यस्तो अवस्थामा आमाको थर भन्नाले कुन थर लेख्ने ? विवाह अघि बच्चा जन्माउने बेलाको वा विवाहपछि अर्थात बच्चाको जन्म दर्ता गराउने बेलाको ?

अर्काे पनि समस्या देखियो । जस्तो कि बाबु ठेगान नभएको बच्चा भएकी महिलासँग कसैले विवाह गर्यो भने त्यो बच्चा झड्केलो सन्तान हो । त्यो बाबुको बच्चा त होइन । तर, ती महिलाले विवाहपछि कायम भएको थर प्रयोग गर्ने गरेको रहेछ र त्यही थर विवाहअघि जन्मेको बच्चालाई दिइयो भने झड्केलो सन्तान पनि त्यही बाबुको सन्तान हुने भयो । 

अर्काे परिस्थिति पनि हुने गरेको देखियो । जस्तो कि एउटा महिलाले एकभन्दा बढी विवाह गरिन् । तर, बाबुको ठेगान भने भएको छैन । ती महिलाको विवाह नगर्दा एउटा थर भयो, पहिलो विवाह गरेपछि अर्काे थर भयो । दोस्रो विवाह गर्दा अर्काे कुनै थर हुन सक्ने भयो । यस्तो अवस्थामा बाबुको ठेगान नभएको बच्चाको थर कुन राख्ने ? पहिलो विवाह गरेपछि कायम भएको थर वा दोस्रो विवाह गरेपछि कायम भएको थर ? यस्ता समस्या देखिए । 

विवाहपछि आमाको थर परिवर्तन हुने अवस्था देखियो । त्यसैकारण आमा जन्मदाको जुन थर छ, त्यही थर कायम गराउने भन्नकै लागि सबै बुझ्ने र स्पष्ट हुने गरी मावलीको थर भनेर परिपत्रमा उल्लेख गरिएको हो । महिलामाथि विभेद गरिएको होइन ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्