सिन्धुपाल्चोकका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

शुक्रबार, चैत २४, २०७९

सिन्धुपाल्चोक– जिल्लाको को याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरूको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पु¥याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए । 

‘यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ,’ उनले भने । हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ । पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख दिइनेछ ।  

‘यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत  साझेदारी गर्नुपर्ने छ,’ उनले भने । विसं २०७८ असार १ यता आएको बाढीले हेलम्बू, मेलम्ची र पाँचपोखरीमा गरी पाँच सय ५१ घर बगाएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्