पौराणिक र धार्मिक बाइस धारा मेला सुरु [तस्बिर कथा]

बिहीबार, चैत २३, २०७९

ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजुस्थित बाइस धारामा बिहीबारदेखि मेला लागेको छ । यो मेलाको पौराणिक, धार्मिक र ऐतिहासिक महत्व छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ वर्षेनी मेला लाग्ने गर्छ । यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउने गर्छन् ।

यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हुन्छ भन्ने विश्वास छ । किम्वदन्तीअनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूप उत्पति भयो । यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिन्छ ।

नागार्जुनको फेंदको मुलबाट निस्किएको पानी र २२ वटा ढुंगे धारा बनेको नै बाइस धारा हो जुन करिब ३ सय वर्ष पहिला मल्लकालका अन्तिम मल्ला राजा जयपप्रकाश मल्लले बनाएका थिए । नागार्जुन जंगलको फेंदमा अवस्थित मनोरम पार्क हो यो । करिब १ सय ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ यो । पछिल्लो समय यो पार्क राजधानीबासी सुस्ताउने गन्तव्य बनेको छ ।

बाइस धारा हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ । यस दिन बाइस धारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

बालाजुमा सुरुमा २१ वटा धारा बनाइएको थियो । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुंगेधारा थप गरेका थिए ।

बाइसधारामा नुहाउँदा छाला रोग निको हुने पनि विश्वास छ ।

खासमा यहाँ बग्ने पानीको मुल नुवाकोट डाँडासँग जोडिएको छ । देवीघाटको पानी नै यहाँ आउने र सो पानीले नुहाएमा छाला सम्बन्धी सम्पूर्ण रोग निको हुने विश्वास छ ।

यो ठाउँ काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी पर्छ । यस स्थानलाई नेवार समुदायले ल्हुति भन्ने गर्छन् । 

16807660532751680767402.jpg

16807660533271680767388.jpg

16807660533431680767366.jpg

16807660532631680767350.jpg

16807660532521680767338.jpg

16807660532371680767323.jpg

16807660532121680767307.jpg

16807660531991680767296.jpg

1680766053186 (1)1680767285.jpg

16807660531741680767275.jpg

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्