आफ्ना प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै गठबन्धन सरकार

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– १० दलीय गठबन्धन सरकारले आज आफ्ना प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ ।

आज बस्ने सत्ता गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने बताइएको छ ।

सरकारले साझा न्यूनतम कार्यक्रममा सहमतिका लागि कार्यदल बनाएर बुधबार विभिन्न चरणमा छलफल गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा विजय पौडेल र जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य छन् । 

कार्यदलले तयार पारेअनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठकमा जानकारी दिएको बताइएको छ ।

न्यूनतम साझा कार्यक्रममा तत्कालीन नेकपा (एमाले)सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको बुझिएको छ ।

जसमा नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको सो पार्टीबाट प्रतिनिधित्व गरेका एक मन्त्रीले दाबी गरे ।

विशेषगरी आर्थिक मन्दीका कारण उत्पादनलगायतका क्षेत्रमा परेको असर ध्यानमा राख्दै अर्थतन्त्र सवलीकरण गर्ने विषय सरकारको प्राथमिकताको मुख्य विषय बनाइएको बताइएको छ ।

साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको रक्षा पनि सरकारको प्राथमिकतामा छ ।  
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्