‘पावर समिट २०२३’ वैशाख पहिलो साता

बुधबार, चैत २२, २०७९

काठमाडौं– वैशाखको पहिलो साता नेपालमा ‘पावर समिट २०२३’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को आयाजनामा आगामी ५ र ६ वैशाख मा ‘पावर समिट २०२३’ हुन लागेको हो ।

इपानले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी २ दिने पावर समिटको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । 

नेपालमा विद्युतकोे बजार, प्रसारण पूर्वाधार, जलविद्युतको माग, प्रविधि र नवप्रवद्र्धन, सार्य ऊर्जा, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकुल विकासलगायतका विषयमा पावर समिटमा विभिन्न १५ वटा सत्रहरुमा छलफल गरिने आयोजकले जनाएको छ ।

भारतीय दूतावास कन्ट्री पार्टनर, यूएसएआइडी र नेपाल विद्युत् प्राधिकरण पार्टनर रहेको पावर समिटमा ३० भन्दा बढी देशका ३०० जना अन्र्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहनेछ । नेपाल सरकारका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तिय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनी, बिक्रेता, थिंक टयांक र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरूको समेत सहभागिता रहने आयोेजकले जनाएको छ । 

पावर समिटको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको इपानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

पावर समिटमा भारत, बंगलादेश, भुटान र श्रीलंकका ऊर्जा मन्त्रीहरूलाई समेत आमन्त्रण गरिएको छ । 

नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरू प्रदर्शन गरिने इपानका उपाध्यक्ष आशिष गर्गले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पावर समिटमा लगानीकर्ताहरूलाई लगानी गर्न ऊर्जा परियोजनाका विषयमा छलफल र बुझ्न अवसर हुने आयोजकले विश्वास गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्