नेभिगेशन
समाचार

बाँकी क्याम्पसमा एकै मितिमा स्ववियु निर्वाचन गराउन माग

काठमाडौं –स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी सबै क्याम्पसमा एउटै मितिमा निर्वाचन गर्न प्रमुख तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन् । 

नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन हुन नसकेका त्रिभुवन विश्वविद्यालयका सबै आगिंक र सम्बन्धनप्राप्त क्याम्पसमा एकैदिन निर्वाचन गर्न माग गर्दै तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक हुने पर्ने बताएका छन् ।

‘विश्वविद्यालयमा चलिरहेको परीक्षालाई मध्यनजर गर्दै मनोनयन हुन बाँकी रहेका त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आगिंक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा एउटै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसँग संयुक्त विद्यार्थी संगठनहरू माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

यसअघि चैत ५ गते अवैधानिक भर्ना, क्याम्पस प्रशासनको लापरबाही र मनोमानी ढंगबाट चालिएका नियोजित कदमका कारण केही क्याम्पसमा निर्वाचन सम्पन्न हुन नसकेको आरोप ती विद्यार्थी संगठनले लगाएका छन् । 

स्ववियु निर्वाचन बिथोल्ने प्रपञ्च रची विद्यार्थीलाई आफ्ना प्रतिनिधि चुन्ने लोकतान्त्रिक अधिकारबाट वञ्चित गराइयो भने आन्दोलनमा उत्रिने चेतावनी पनि ती विद्यार्थी संगठनले दिएका छन्। यसबाट उत्पन्न हुने परिस्थितिको सामना स्वयं विश्वविद्यालय र क्याम्पस प्रशासनले गर्नुपर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार