नेभिगेशन
अर्थ विविध

महासंघको वरिष्ठ उपाध्यक्ष पदका तीन पत्यासीः कसको के छ प्रतिबद्धता ?

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ ।

निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन् । निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार टिम बनाएर चुनावी जोडघटाउमा ब्यस्त छन् । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा देखिएको छ । 

वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् । 

बरिष्ठ उपाध्यक्षबाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ । तर, भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेद्वार बनेका छन् । 

मंगलवार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एशोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ ।  अब एसोशिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा हुनेछ । 

ज्योत्स्ना दुई दिनअघि अञ्जनको टीम छोडेर वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाईको टीममा पुगेकी थिइन् । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वारहरुले अर्थतन्त्रमा देखिएको संकटका कारण समस्यामा रहेका व्यवसायीहरुको समस्या समाधान गर्न कस्तो पहल गर्ने प्रविद्धतता जनाए भन्नेकुरा सबै व्यवसायीहरुको चासोको विषय छ । 

व्यवसायीहरुको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने जस्ता प्रतिवद्धता उनीहरुको छ । 

आईतवार रामचन्द्र संघाईले समृद्धिको आधार राजनीतिक स्थायीत्व, लगानीमैत्री वातावरण र पूर्वाधार मुल नारासहित वरिष्ठ उपाध्यक्षका उम्मेद्वारी घोषणा गरे । उनले उद्योगी व्यवसायीहरुका समस्याको समाधान गरी व्यवसायीहरुको हकहितमा निरन्तर लाग्ने अठोटसहित उम्मेद्वारी दिएको बताएका छन् ।

महासंघको संगठनात्मक सुधार र समन्वय गर्ने प्रतिवद्धता जनाउँदै संघईले महासंघलाई थप प्रविधिमैत्री बनाउने, उद्योगी व्यवसायीहरको गुनासो, समस्या बुझ्ने हेल्प डेस्क र हट लाइन व्यवस्थित बनाउने, प्रदेश च्याप्टरहरुको भुमिका थप बढाउने, केन्द्र, प्रदेश, जिल्ला नगर समन्वय बढाउने, देशभर महासंघको आफ्नै भवन बनाउने प्रतिवद्धता जनाएका छन् । उनले कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए । सुस्ताएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएर आर्थिक विकास र अर्थतन्त्र सुधार गर्ने दाबी संघईको छ ।

त्यस्तैै, सोमवार वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र भन्ने मुल नारासहित उम्मेद्वारी घोषणा गरेका छन् । संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हितमा  काम गर्ने प्रतिवद्धता श्रेष्ठले जनाए ।

आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाउदै उनले उद्योग वाणिज्य महासंघमा  फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि आफू वरिष्ठ उपाध्यक्षमा उठेको  दाबी गरे । बिनाशर्त व्यवसायीका समस्या समाधान गर्न लागिपर्ने भन्दै उनले महासंघबाट सरकारलाई पत्र बुझाउँदा पत्र वाचन गर्ने अध्यक्ष मात्रै नबन्ने प्रतिवद्धता पनि जनाए । महासंघको वरिष्ठ उपाध्यक्ष जिताएर पठाए कसैको कठपुतली नहुने तर उद्योगी व्यवसायीहरुको कठपुतली बन्न तयार रहेको भन्दै श्रेष्ठले उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन महासंघ सुदृढ र संगठित महासंघ पाउन नसकेकोले  अब आफूले बनाउने प्रतिवद्धता जनाए ।

अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायीहरु माझ प्रतिवद्धता सार्वजनिक गरिसकेका छैनन् । तर श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेद्वारी भने दर्ता गरिसकेका छन् । उनी देशभर पुगेर उद्योगी व्यवसायीका समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै महासंघलाई निजी क्षेत्रको साझा र प्रभावकारी छाता संस्था बनाउन लागिपर्ने बताइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध