नेभिगेशन
अर्थ विविध

महासंघ निर्वाचनः वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कसले कस्तो बनाए प्यानल ?

काठमाडौँ– अहिले उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । चैत अन्तिम साता हुने निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले आगामी कार्यकालको लागि नयाँ नेतृत्व छनोट गर्ने भएकोले उद्योगी व्यवसायीहरु चुनावी चटारोमा जुटेका हुन् ।

महासंघको ३७ औं वार्षिक साधारणसभा चैत २८ र २९ गते काठमाडौँमा आयोजना हुँदैछ । सो सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व छनोट गर्दैछ । वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको व्यक्ति अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था महासंघको विधानमा छ । त्यसैले अगाामी कार्यकालका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्नेछन् ।

विगतमा जस्तै यसवर्ष पनि वरिष्ठ उपाध्यक्ष पदमा भने रोचक प्रतिस्पर्धा हुने भएको छ । यसपाली ३ जना उद्योगी व्यवसायीहरु आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।

आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । श्रेष्ठ अहिले महासंघको वस्तुगत तर्फका उपाध्यक्ष हुन भने संघई एसोसिएट तर्फको बर्तमान उपाध्यक्ष हुन् । उमेशलाल श्रेष्ठ भने महासंघको गत निर्वाचनमा अन्जन श्रेष्ठसँग उपाध्यक्ष पदमा पराजित भएका थिए ।

अन्जनको प्यानल

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका अन्जन श्रेष्ठको प्यानलबाट प्रवलजंग पाण्डेले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि उनको प्यानलबाट एसोसिएट उपाध्यक्ष बन्ने घोषणा गरेकी ज्योत्स्ना श्रेष्ठले अन्तिम समयमा टीम परिवर्तन गरेपछि पाण्डे उम्मेदवार बनेका हुन् ।

यस्तै, अन्जनको टीमबाट वस्तुगत उपाध्यक्ष मनिषलाल प्रधान छन् । उनी महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानका छोरा हुन् । हेटौडाका व्यवसायी अरुणराज सुमार्गी अन्जनको टीमबाट जिल्लानगर तर्फको उपाध्यक्षमा उम्मेदवार बन्ने भएका छन् ।

रामचन्द्रको प्यानल

महासंघको एसोसिएट तर्फका वर्तमान उपाध्यक्ष रामचन्द्र संघई आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् । उनले पनि आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् ।

संघईको प्यानलबाट सुरकृष्ण बैद्य जिल्ला नगरतर्फको उपाध्यक्ष बनेका छन् । यस्तै, सुकुन्तलाल हिराचन वस्तुगत उपाध्यक्ष बनेका छन् भने ज्योत्स्ना श्रेष्ठ एसोसिएट उपाध्यक्ष बन्ने भएकी छन् । ज्योत्स्ना श्रेष्ठले अन्जन श्रेष्ठको टिम छोडेर हालै मात्र संघईको टीम ‘ज्वइन’ गरेकी हुन् ।

उमेशलालको प्यानल

व्यवसायी उमेशलाल श्रेष्ठले पनि आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उमेशलालको प्यानलमा दिनेश श्रेष्ठ जिल्ला नगरतर्फको उपाध्यक्ष बनेका छन् । दिनेश श्रेष्ठ अहिले पनि महासंघको सोही पदमा छन् ।

यस्तै, हेमराज ढकाल वस्तुगततर्फको उपाध्यक्ष बनेका छन् भने भरतराज आचार्य एसोसिएट तर्फको उपाध्यक्ष बनेका छन् । 

निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको संस्था भएपनि पछिल्लो समय राजनीतिक दलहरुले पनि चासो दिन थालेका छन् । दलहरुले चासो दिदा महासंघमा पनि राजनीतिक दलहरुको मत निर्णयक हुन थालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध