नेभिगेशन
अर्थ विविध

काठमाडौं–ल्हासा सिधा उडान खोल्न नेपालको आग्रह

काठमाडौं –काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न नेपालले चीनसँग आग्रह गरेको छ । तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न आग्रह गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कोभिड–१९ का कारण बन्द भएको हवाई सेवाले २ देश बीचको पर्यटन र व्यापारलाई थप विस्तार गर्ने भन्दै सेवा पुनः सञ्चालनका लागि आग्रह गरिएको हो ।

नेपालसँग सबै व्यापारिक नाका खुला गर्दै जाने चिनियाँ नीतिअनुसार गरिएको आग्रहमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । ‘हामीले हवाई सेवा सुचारु गर्न आग्रह गरेका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ रेग्मीले थपे, ‘विमानस्थल स्तोरन्नतीको काम भइरहेको र छिट्टै नेपालको आग्रहअनुसार आवश्यक निर्णय लिने बताउनु भएको छ ।’

ल्हासा–काठमाडौं सिधा उडान नहुँदा हाल काठमाडौं–छेन्दु–ल्हासा र ल्सासा–छेन्दु–काठमाडौं गरी घुमाउरो रुटमा हवाई सेवा जोडिएको छ ।

चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै माघ २०७६ देखि चिनियाँ वायुसेवा कम्पनीहरूले विभिन्न देशको उडान रोकेका थिए । सोही अनुसार नेपालमा हुने उडान समेत रोकिएको थियो । नेपाल सरकारले ११ चैत २०७६ मा देश भित्रै लकडाउन सुरु गरेपछि त्यसयता सो रुट बन्द छ ।

कोभिड–१९ पछि पछिल्लो समय नेपाल र चीन जोड्ने गरी ५ वटा वायुसेवा कम्पनीले नियमित उडान थालिसकेका छन् । जसमा एयर चाइना र सिचुवान एयरलाइन्सले छेन्दु–काठमाडौं, चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वाङझाउ र हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङलाई काठमाडौंसँग जोड्ने गरी समर सेड्युल स्वीकृत गराएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध