अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन

सोमबार, चैत २०, २०७९

काठमाडौं –दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी–मस्याङ्दी (दरौंदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ ।

प्रसारण लाइनको शिलान्याश गरिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले बताए । कम्पनीले निर्माण गर्न लागेको यो पहिलो आयोजना हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेले प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरे ।

आयोजनाअन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–१ मा १३२ केभी क्षमताको केराबारी सवस्टेशन निर्माण हुनेछ । यस्तै सव–स्टेशनदेखि तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपलिका–२ स्थित न्यू–मस्र्याङ्दी (मार्किचोक) सव–स्टेशनसम्म ३२ किमी जति लामो १३२ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ ।

कुल १०७ वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको टावर नम्बर १९ बाट निर्माण सुरु गर्न लागिएको हो । आयोजनाका प्रबन्धक देवेश सैंजुले आयोजनाको निर्माणपछि चेपे तथा दरौंदी खोलामा निर्माण गरिने विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित करिब १२० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताए ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार छुट्टाछुट्टै प्रसारण लाइन निर्माण गर्नुभन्दा एउटा साझा प्रसारण लाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएको बताए ।

उनले आयोजनाबाट दरौंदी तथा चेपे खोलामा निर्माण गरिने जलविद्युत आयोजनाहरू लाभान्वित हुने र अन्य आयोजनाका लागि समेत मार्ग प्रशस्त गर्ने विश्वास दिलाए ।

प्रसारण लाइन नदी कोरिडोरका  धेरै आयोजनालाई समेट्ने गरी बनाइएको साझा प्रसारण लाइन विकासको एक मोडेलको रूपमा स्थापित हुने बताए ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिंदै आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरेको छ । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्