परिसंघले दियो अर्थमन्त्री डा. महतलाई १० बुँदे सुझाव

सोमबार, चैत २०, २०७९

काठमाडौँ– नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त अर्थमन्त्री महतलाई आईतबार बधाई दिदै अर्थतन्त्र सुधारका सुझाव प्रस्तुत गरेको हो । 

परिसंघका अध्यक्ष अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने, लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए । यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम हुन पाएमा अर्थतन्त्रमा छिटो सुधार आउने उहाँले विश्वास व्यक्त गरे ।

ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन सीआरआर ३ प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाईनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको संचित कोषमा भएको मौज्दात रकमको शतप्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव अध्यक्ष अग्रवालले दिए ।

यस्तै मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम ५ प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, सेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ । निर्माण क्षेत्रमा दिईनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्नेछ । 

परिसंघको सुझाव लिनुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले सकारात्मक ‘सेन्टीमेन्ट’ सिर्जना गर्न लागिपर्ने बताए ।

‘अर्थतन्त्र सुधारका लागि सकारात्मक सेन्टीमेन्ट निर्माण गर्न पूर्ण रूपमा लाग्नेछौं । जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौं । त्यसमा तपाईहरुको पनि सहयोग आवश्यक पर्छ,’ अर्थमन्त्री डा. महतले भने ।

यसका लागि परिसंघसँग सहकार्य गर्ने पनि उनले बताए । अर्थमन्त्रीसँगको भेटमा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत थिए । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्