नेविसंघका अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै असन्तुष्ट पक्षले थाल्यो अनशन

शनिबार, चैत १८, २०७९

काठमाडौं –अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको असन्तुष्ट पक्षबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु गरिएको छ ।

म्याद सकिइसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ बृहत् संघर्ष समितिको अगुवाइमा शनिबारदेखि रिले अनशन सुरु गरिएको हो ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।

‘असंवैधानिक’ सभापतिले गरेका सम्पूर्ण पत्राचार खारेज हुनुपर्ने, १२औँ महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग असन्तुष्ट पक्षका विद्यार्थीले  राखेका छन् ।

अनशनमा बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिइसकेका सभापतिले संगठनविरोधी काम गरेको र पार्टीले दिएको ‘म्यान्डेड’अनुसार स्ववियु अधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए । उनले नयाँ कमिटी गठन गर्नुपर्ने माग गरे ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षअघि शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयावधिभित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्