३ वर्षपछि पुनः सञ्चालनमा आयो रसुवागढी–केरुङ नाका

शनिबार, चैत १८, २०७९

काठमाडौं– रसुवागढी–केरुङ नाका ३ वर्षपछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी नेतृत्वको टोली र चिनियाँ अधिकारीले शनिबार संयुक्त रूपमा नाका सञ्चालन आरम्भ गरेका हुन् ।

नाका पूर्णरूपमा सन्चालनमा आएसँगै मालबाहक कन्टेनर भित्रिन सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको थियो ।  

कोरोना महामारीपछि लामो समय बन्द रहेको यो नाका अहिले आंशिक रूपमा सञ्चालनमा हुँदै आएको थियो । सिन्धुपाल्चोकको तातोपानी नाका पनि १ महिनापछि १ मईदेखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

चीनसँगका यी दुई नाका पूर्ण रूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो । जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए । 

रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि व्यवसायी, व्यापारीलगायत सरोकारवाला उत्साहित छन् । निकास पैठारी र मानिसको आवतजावतका लागि नाकामा तयारी तीव्र पारिएको छ । कन्टेनर चालक, कामदार, व्यापारी तथा व्यवसायीको एन्टिजेन परीक्षण गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

१५ माघ २०७६ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित थियो । २२ असार २०७७ बाट भने पुनः सामान आयात थालिएको थियो, निर्यात भने ठप्प थियो ।

कोभिडका कारण रोकिएको सामान निर्यात ३५ महिनापछि १२ पुसदेखि खुलेको हो । मानिसको आवतजावत भने ३८ महिनादेखि नै ठप्प थियो । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार