अर्थतन्त्रलाई संकटमा जान नदिने नवनियुक्त अर्थमन्त्रीको प्रतिबद्धता

शुक्रबार, चैत १७, २०७९

काठमाडौं –नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई संकटमा जान नदिने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएपछि अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै महतले अर्थतन्त्रलाई संकटबाट जोगाउने प्रतिबद्धता जनाएका हुन् । 

‘अर्थतन्त्र जोगाउन विशेष प्रयास गरेर अघि बढ्छु’, मन्त्री महताले भने । उनले अर्थतन्त्र सुधारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिहरू लिइने पनि बताए ।

उनले राजस्व सन्तोषजनक नभएको, साधारण खर्च ज्यादा देखिएको, पुँजीगत खर्च धेरै गर्न नसकिएको बताउँदै विशेष ध्यान दिने बताए । अर्थतन्त्र चलायमान बनाउन र राजस्व बढाउन चुनौती भए पनि त्यसपछि धेरै काम गर्न सकिने देखिएको मन्त्री महतको भनाइ छ ।

उनले अर्थतन्त्र चलायमान बनाउन सक्रियतापूर्वक लाग्ने उल्लेख गरे  । अर्थमन्त्री महतले भने, ‘लघुवित्तदेखि सहकारी समस्यामा छन् । राष्ट्र बैंकसँग सहकार्य गरेर काम गर्न आवश्यक देखेको छु । अहिले जुन निराशा छ त्यसलाई आशामा बदल्नुपर्ने अवस्था छ ।’  

पदभार ग्नहण गर्दै मन्त्री महतले पहिलो निर्णयका रूपमा नगद प्रवाहसम्बन्धी गठित समितिको फाइलमा हस्ताक्षर गरेका छन् । 

सरकारको नगद प्रावाह अनुसार हरेक महिना कति आम्दानी भयो र कति खर्च भयो त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने हुन्छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्