भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई

बिहीबार, चैत १६, २०७९

टक्सार– पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ । 

आज भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टिमलाई पराजित गरेको हो । 

खेलको निर्धारित समयमा एक र अतिरिक्त समयमा अर्को गोल थप्दै क्यामरुनले घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घलाई २–० गोलले पराजित गरेको हो । क्यामरुनका तर्फबाट नगुइनी र टिम्बाले एक/एक गोल गरेका थिए । 

विजेता भएसँगै क्यामरुनले रु पाँच लाख पाएको छ भने भोजपुरले रु तीन लाखसहित उपविजेतामा चित्त बुझाउनुपरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच भोजपुरका खेलाडी धीरज मगर भएका छन् ।

यस्तै, खेलको व्यक्तिगत विधातर्फ उदयीमान खेलाडीमा भोजपुरका बिनुप राई, उत्कृष्ट गोलरक्षकमा क्यामरुनका एलिन, उत्कृष्ट रक्षकमा क्यामरुरनका एनसनगोउ, उत्कृष्ट मिडफिल्डर क्यामरुनका नगुइनी, सर्वाधिक गोलकर्ता भोजपुरका सन्तोष तामाङ र क्यामरुनका टिम्बा भएका छन् भने सर्वोत्कृष्ट खेलाडी भोजपुरका विजय भुजेल भएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका थिए । खेल संयोजक आङपासाङ शेर्पाका अनुसार प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ र बसाहा क्लब उदयपुरले सहभागिता जनाएका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २१:२४
प्रतिक्रिया दिनुहोस्