बुन्डेस्टागलाई सम्बोधन गर्दै बेलायती राजा

बिहीबार, चैत १६, २०७९

बर्लिन– रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दैछन् । 

बेलायतको राजसिंहासन सम्हालेपछि भएको उनको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत नरेशका रुपमा जर्मन संसद्लाई  उनी पहिलोपटक सम्बोधन गर्दैछन् । त्यसअघि उनले चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।  

बेलायतका तत्कालीन युवराज चाल्र्सले सन् २०२ मा पनि जर्मन संसद्लाई सम्बोधन गरेका थिए । मेलमिलाप दिवसका आवसरमा भएको उनको त्यो सम्बोधनलाई दुई देशबीचको युद्धपछिको मेलमिलापको प्रतीकका रुपमा हेरिएको थियो ।  धारा प्रवाह जर्मन भाषा बोल्ने क्षमता भएका उनले आज जर्मन र अङ्ग्रेजी दुवै भाषामा संसद्लाई सम्बोधन गर्ने ठानिएको छ । 

बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिला एल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ बुधबार ब्रान्डनबर्ग गेटमा भव्य स्वागत गरेका थिए । बुधबार नै बेलायती विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति स्टेनमेयरले बेल्लेभ्यु प्यालेसमा राजकीय भोज आयोजना गरेका थिए ।
 
त्यस अवसरमा राजा चाल्र्सले बेलायत र जर्मनीबीच विद्यमान चिरस्थायी सम्बन्धको सराहना गरे । राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन् ।

 नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्सको यो भ्रमण भएको हो । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भएको थियो । 

शुक्रबार स्वदेश फर्कनुअघि राजा चाल्र्स ब्रान्डनवर्ग पुग्नेछन् । त्यहाँ उनले युक्रेनी शरणार्थीलाई भेट्नेछन् भने उत्तरी बन्दरगाह सहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ । 

युरोपेली सङ्घबाट बेलायत बाहिरिएपछि राजगद्दी सम्हालेका राजाबाट भएको राजकीय भ्रमणले जर्मनीसँगको सम्बन्ध विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्