सुन्दरबजार नगरपालिकाले विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

बुधबार, चैत १५, २०७९


काठमाडौं - लमजुङको सुन्दरबजार नगरपालिकाले नगरभित्र रहेका विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ ।

आय–आर्जनका श्रोत नभएका उपचारमा कठीनाइ परिरहेका नागरिकलाई उपचारमा सघाउने र प्रभावकारी रुपमा स्वास्थ्य सेवाको पहुँच पुराउने उद्धेश्यले नगरक्षेत्रका विपन्न परिवारका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने निर्णय गरिएको नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

नगर प्रमुख कोइरालाका अनुसार उपचारमा कठीनाइ परेर आर्थिक सहायताका लागि नगरपालिकामा धाउनेको संख्या बढ्दो बढेको अवस्थामा उनीहरुलाई उपचारका लागि पाँच/दश हजार रुपैयाँ दिनुको सट्टा बीमा रकम नगरपालिका आफैँले व्यहोरेर उनीहरुलाई स्वास्थ्य सेवा लिन सहज बनाउने हेतुका साथ नगर कार्यपालिका बैठकमा छलफल र बहसपछि यस्तो निर्णय गरेको हो ।

नगर क्षेत्रका नागरिकको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत परिवारमा रहेका पाँच जनाको स्वास्थ्य बीमा वापतको रकम ३ हजार ५ सय नगरपालिका आफैँले तिरिदिनेछ । 

स्वास्थ्य बीमा पश्चात प्रति घरधुरीका पाँच जनासम्म सदस्यले वर्षमा १ लाखसम्मको स्वास्थ्य सेवा लिन सक्नेछन् ।

यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन लाख रुपैयाँ विनियोजन गरेको छ । 

नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने भएपछि यसै आर्थिक बर्षमा स्वास्थ्य बीमाको लागि निवेदन दिनेको संख्या बढेको छ । यसलाई मध्यनजर गरेर सो रकममा अझै थप गरिने नगर प्रमुख कोइरालाको भनाई छ । आगामी आर्थिक बर्षमा स्वास्थ्य बीमाको लागि थप रकमको व्यवस्था गरिनेछ । 

यसका लागि अहिले आवेदन संकलन भइरहेको छ । प्राप्त आवेदनलाई छानबिन गरी अति विपन्न व्यक्तिहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य बीमा वापतको रकम नगरपालिका आफेँले बेहोर्ने नगरप्रमुख कोइरालाले बताए । 

आफूले नगर प्रमुख भए लगत्तै स्वास्थ्यको क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका नगर प्रमुख कोइरालाले यस किसिमको कार्यक्रमले नगरपालिका भित्रका विपन्न परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार नगरपालिकामा अति गरिब घरधुरी संख्या २ सय २९, मध्यम गरिब २ सय ६३ र सामान्य गरिब घरधुरी संख्या १ सय ७२ रहेका छन् । तिनीहरु मध्ये गरिव परिवारलाई मध्यनजर गरेर यस्तो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

आवश्यकताअनुसार यस रकम बढाउन सकिने र कार्यक्रम प्रभावकारी भएमा आगामी वर्षहरुमा यस कार्यक्रमको बजेटलाई झै बढाइने उनले बताए ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्