Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न आग्रह

मंगलबार, चैत १४, २०७९

काठमाडौं –नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको छलफलमा अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए । 

अध्यक्ष मल्लले भने, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरू निकै मर्कामा परेका छन । ऋण लिएर व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन । यसअघि ऋण लिएकाहरूले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ ।’ 

उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरूको ध्यानकर्षण गराए । 

ब्याजदर नियन्त्रणसंगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । 

उनले भने, ‘पुँजीगत खर्च हुनसकेको छैन । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हुँदा व्यापारघाटा आकासिएको छ । रोजगारी सिर्जना हुनसकेको छैन। आम सर्वसाधरण नागरिकसँग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रूपमा आवाज उठ्न जरुरी भइसक्यो ।’

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजस्वजस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरि काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्