जर्मनीले दियो युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क

मंगलबार, चैत १४, २०७९

बर्लिन– जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ । 

युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र  सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् । गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गर्ने आश्वासन दिएको थियो ।

‘हाम्रा युक्रेनी साथीहरूले ट्याङ्क प्राप्त गुर्नभएको छ , लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,’ रक्षामन्त्री पिस्टोयिसले भनेका छन् । 

किभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर–२ ट्याङ्क पनि युक्रेन पुगेका छन् । 

गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो । 

बेलायतबाट आफूलाई लियोपार्ड–२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर–२ ट्याङ्क प्राप्त गरेको पुष्टि गरेको छ ।

बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर–२ ट्याङ्क युक्रेन पुगेका जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्याङ्क सञ्चालनको तालिम बेलायतमा लिएको बताएका छन् । यद्यपि उनले लियोपार्ड–२बारे कुनै जानकारी दिएनन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्