मन्त्रालय भागवन्डमा प्रधानमन्त्रीसँग नेकपा एसको कुरा मिलेन

प्रधानमन्त्रीले धेरै गाह्रो छ भन्नुभयो : खनाल
मंगलबार, चैत १४, २०७९

काठमाडौं –मन्त्रालय भागवन्डाको विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको नेकपा (एकीकृत समाजवादी) सहमति नभइ फर्केको छ 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मन्त्रालय भागवन्डाको विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवादील)का शीर्र्ष नेताहरू मंगलबार बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला वालुवाटार पुगेका थिए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले २ वटा मन्त्रालयमा चित्त बुझाउन नेकपा एसका नेताहरुलाई आग्रह गरे । छलफलमा प्रधानमन्त्रीले आफूलाई सहयोग गर्ने दलहरू धेरै भएको र उनीहरूको पनि चित्त बुझाउनुपर्ने भएकाले समाजवादीलाई २ वटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गरेका थिए । 

तर समाजवादीका नेताहरुले ३ मन्त्रालय भन्दा बाहेकमा ‘कम्प्रोरमाइज’ गर्न नसकिने अडान लिएका थिए ।

‘ठोस सहमति भएन । हामीले थोरैमा ३ वटा मन्त्रालय मागेका छौँ । तर प्रधानमन्त्रीले कोसिस गर्छु तर धेरै गाह्रो छ भन्नुभयो’, छलफलपछि सम्मानित नेता झलनाथ खनालले भने ।

समाजवादीले गृहसहित ३ वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । साथै सातै प्रदेशमा मन्त्री र १ मुख्यमन्त्री पनि पाउनुपर्ने गरी प्याकेजमा सहमति गर्नुपर्ने समाजवादीको माग छ ।

प्रधानमन्त्री प्रचण्डसँगको छलफल पार्टीको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

बैठकमा शीर्ष नेताले प्रचण्डसँग भएको छलफलको ब्रिफिङ गर्नुका साथै पार्टीबाट सरकारमा जाने मन्त्रीको टुंगो लगाउने छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्