माओवादी, समाजवादी र जसपाबीच मोर्चा बन्छ : उपेन्द्र यादव

आइतबार, चैत १२, २०७९

धनगढी –जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिले पनि देशलाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका छन् ।

आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अहिले लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध केही पार्टी र मान्छेहरू सलबलाएको भन्दै देशलाई फेरि प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका हुन् ।

संघीयताविरुद्ध आवज उठिरहेको वेला अब सरकारले आवश्यक कानुन बनाएर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने उनको दाबी छ । त्यस्तै उनले अहिले जसपा, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच समाजवादी मोर्चा बन्ने र बनाउनेबारे छलफल चलिरहेको बताए ।

उनले भने, ‘एकताको विषयमा मूल गाठो कम्युनिष्ट पार्टी जसपा बन्न सक्दैन भन्ने नै हो । अहिले पनि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा बनाउने कुरामा तयारी भइरहेको छ ।’

यस्तै आफूलाई आसन्न उपनिर्वाचन लडेर पुनः संसद्मा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको पनि उनले जिकिर गरे । तर त्यसबारे आफूले कुनै निर्णय नगरेको उनले बताए । तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए ।
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्