गण्डकीमा माओवादीका मन्त्रीले बुझाए राजीनामा

शुक्रबार, चैत १०, २०७९

कास्की–गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी २ जना मन्त्रीहरूले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार पदबाट राजीनामा दिएका छन् । 

शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा संलग्न दुई मन्त्रीलाई राजीनामा गराउने निर्णय गरेको थियो । 

संसदीय दलका नेता एंव भौतिकमन्त्री चुमानले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको बताए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता चुमानलाई सरकारबाट बाहिरिन बिहीबार निर्देशन दिएका थिए ।

गण्डकीमा माओवादी र राप्रपाको साथले एमाले नेतृत्वमा सरकार बनेको थियो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसद आवश्यक पर्छ । दुई मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको छ । अब अधिकारीलाई कि राजीनामा दिने कि त विश्वासको मत लिने दुई विकल्प रहनेछन् ।

प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । गण्डकीमा एमालेका २२, राप्रपाका २ र स्वतन्त्र एक सांसद रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्