लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

शुक्रबार, चैत १०, २०७९

बुटवल –नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व दाबी गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार लुम्बिनीमा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई नदिने भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । 

लुम्बिनी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस दोस्रो ठूलो दल हो । ‘केन्द्रमा बनेको सत्ता समीकरण अनुसार प्रदेश सरकारहरु पनि पुनर्गठन गर्न कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ’, रुपन्देहीका सांसद वसिउद्दिन खांले बताए । खांले भने, ‘प्रदेश सभाको दोस्रो ठूलो दल भएकाले नेपाली कांग्रेसले नेतृत्व नछाड्ने कुरामा सबै सदस्यहरुको एक मत छ ।’

लुम्बिनीमा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व दाबी गरिरहेको छ । प्रदेश सभाका १० दलमध्ये माओवादी केन्द्र १० सांसदसहित तेस्रो दल हो ।

अहिले एमाले नेता लिला गिरी नेतृत्वको सरकारमा माओवादी पनि छ । तर माओवादी संसदीय दलभित्र विवाद भएकाले बिहीबार संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने भनिए पनि त्यस विषयमा बैठकमा प्रवेश नै नपाएपछि नयां सरकार गठन प्रक्रिया अन्योलमा छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्