उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्छु : वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ

शुक्रबार, चैत १०, २०७९

काठमाडौं –नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भए पछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्ने बताएका छन् ।

काँकरभिट्टामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ?’ विषयक कार्यक्रममा उनले एफएनसीसीआईका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सहयोगी र सेतुको रुपमा आफूले काम गर्ने बताए ।

‘मैले वरिष्ठ उपाध्यक्ष भए पछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्नेछु,’ उनले प्रतिबद्धता जनाए ।

‘विधानमा वरिष्ठ उपाध्यक्षको कामका बारेमा व्याख्या नभए पनि आफूले सक्रिय रुपमा उद्योगी व्यवसायीहरुको समस्या समाधानमा काम गर्ने छु’, उनले भने ।

उनले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रिय रूपमा सहकार्य गर्ने पनि बताए । 

कार्यक्रममा पूर्वअर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजि क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए ।

कार्यक्रममा सहभागी भएका विभिन्न जिल्ला तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरुले निजी क्षेत्रका नेतृत्वले नियमित रुपमा यस्ता छलफल गराउनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्