गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’

शुक्रबार, चैत १०, २०७९

लमजुङ– गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ । 

उपभोक्ता समितिका अध्यक्ष तथा बेँसीसहर नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य अजय मजाकोटीले भने, ‘यहाँ चट्याङको उच्च जोखिम रहेकाले स्थानीयको जनधनको सुरक्षा गर्न छ ठाउँमा अर्थिङ टावर निर्माण गरेका छौँ, थुम्काडाँडा क्षेत्रका विश्वकर्मा गाउँ, मालुवागाउँ, खेताघर टोल, पुर्काङगाउँ, बानियागाउँ, मौरतीगाउँमा अर्थिङ टावर राखिएको छ ।’ 

अर्थिङ टावरको काम सबै स्थानीय बजारका प्राविधिकले गरेका थिए । अर्थिङ टावरले चट्याङको शक्तिलाई तानेर जमिनमा पु¥याएर नष्ट गरिदिने भएकाले गाउँमा अर्थिङ टावर राखिएको उनको भनाइ छ । उनले भने, ‘टावर निर्माण गरेसँगै यतिबेला ७५ घरका तीन सयभन्दा बढी स्थानीयसहित भौतिक संरचना र पशुपक्षी चट्याङबाट सुरक्षित बनेका छन् ।’

३० फिट अग्लो फलामे पाइपमा तामाको ‘एन्टिना’ राखेर भुइँमा चार फिट गाडेर उक्त टावर निर्माण भएको बताइएको छ । उक्त एन्टिनाबाट तामाको तार लगेर नुन र कोइलासँगै गाडिएको तामाको पातामा जोडेर अर्थिङ गरिएको छ । नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, ‘अर्थिङ टावर निर्माणका लागि चालु आवमा रु दुई लाख बजेट विनियोजन गरेर निर्माणका लागि सहयोग गरेका छौँ, यतिबेला निर्माणसमेत सम्पन्न भइसकेको छ ।’ 

नगरपालिकाको रु दुई लाखबाहेक अर्थिङ टावर निर्माणका लागि स्थानीयको नगद रु ५० हजार र  रु ६० हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिले जनाएको छ ।  उक्त टावर निर्माणले चट्याङबाट हुन सक्ने क्षतिबाट केही सुरक्षित महसुस गरेको स्थानीयको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्