कर्णालीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत

बिहीबार, चैत ९, २०७९

कर्णाली– कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ । 

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले यहाँका १० जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर कास्य, रजत र स्वर्ण पदकसहितका पदक जित्ने ४७ खेलाडीलाई २५ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो ।

परिषद्को यसअघिको निर्णयबमोजिम १२औँ राष्ट्रपति रनिङ शिल्ड तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

उनले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सिफारिसमा कर्णाली प्रदेश सरकारले १२औँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको बताए । 

खेलाडीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई दुई लाख रुपैयाँ, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई  एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

१२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तीन स्वर्ण, सात रजत र सात कास्य, कबड्डी टोलीसहित १६ कास्य पदक तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट दुई स्वर्ण, चार रजत र ११ कास्य पदक जितेका थिए । सन् २०२२ मा सञ्चालित अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी भई फुटबलतर्फ रजत पदक जित्न सफल हुम्लाका दीपा शाही ५० हजार र स्वर्ण पदक विजेता स्ट्रेन्थ लिफ्टिङ सुर्खेतका खगिसरा घर्तीलाई दुई लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकासमन्त्री टेकराज पछाईंले खेल क्षेत्रबाट कर्णालीले विश्व चिनाउन ठूलो योगदान गरेको बताए । ‘खेलाडी देशको गौरव हुन् तर नेपालमा खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेकै कारण अन्य पेशा रोज्नुपर्ने बाध्यता छ’, उनले भने, ‘कर्णाली प्रदेशमा त्यस्तो नहोस् भनेर खेलाडी र खेल क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।’

मन्त्री पछाईंका अनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा खेलकुदका पूर्वाधार तीव्रता साथ अगाडि बढाइएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि यो अवसर र चुनौती दुवै भएको बताए । यो अवसरको सदुपयोग गर्दै चुनौतीलाई सामना गर्न परिषद्ले योजना बनाइरहेको भन्दै उनले खेलाडीसहित सम्बन्धित सरोकारवालालाई साथ दिन आग्रह गरे ।

सदस्य सचिव सञ्ज्यालले खेलाडीको पुरस्कार र प्रोत्साहन गर्न कर्णालीमा खेलको वर्गीकरण गरी प्रशिक्षणलाई प्रथामिकता दिने योजना बनाइएको बताए ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्