भारत र मलेशिया मिल्दा नेपालको निर्यात ४७ अर्बले घट्यो

बिहीबार, चैत ९, २०७९

काठमाडौँ– मलेशियासँगको भारतको सम्बन्ध सुमधुर हुँदा नेपालले २ वस्तुको निर्यातमा मात्रै ४७ अर्ब रुपैयाँ गुमाएको छ । 

नेपालबाट भारतमा निर्यात हुने करिब ४७ अर्ब रुपैयाँ बराबरको पाम र सोयाविन तेलको निर्यात घटेको हो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनासम्ममा यी दुई वस्तुको निर्यात कम भएको तथ्यांकले देखाएको छ । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्म (८ महिना) मा ६३ अर्ब ७६ करोड रुपैयाँ बराबरको पाम र सोयाविन तेल निर्यात गरेको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा भने नेपालले जम्मा १६ अर्ब ६८ करोड रुपैयाँ बराबरको मात्रै पाम र सोयाविन तेल निर्यात गरेको छ । 

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पाम र सोयाविन तेलको निर्यात ४७ अर्ब रुपैयाँले घटेको देखिएको हो ।

भएको के हो ?

सन् २०१९ को ५ अगष्टमा भारतले कास्मिरलाई दिदै आएको विशेष दर्जा खारेज गरिदिएको थियो । सो विषयलाई लिएर एसियाली देशहरुले आआफ्नो धारणा सार्वजनिक गरेका थिए । सोही कारण कास्मिरमा दंगा समेत फैलिएको थियो ।

सोही कास्मिर विवादलाई लिएर मलेशियाका तत्कालिन प्रधानमन्त्री महाथिर मोहमदले एक अभिव्यक्ति दिएका थिए । उनले कास्मिरलाई दिएको विशेष दर्जा खारेज गर्ने भारतको कदम सही नभएको अभिव्यक्ति दिएका थिए ।

मलेशियाली प्रधानमन्त्री मोहमदको सो भनाइलाई लिएर भारत र मदेशियाको सम्बन्धमा चिसोपन आएको थियो । सोही कारण भारतले सोयाविन र पाम तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल उच्च बनाएको थियो ।

भारतको यस्तो कदमपछि अर्जेन्टिना, इन्डोनेसिया जस्ता देशबाट नेपालमा पाम र सोयाविनको कच्चा तेल ल्याएर तयारी तेल भारत निर्यात हुने गरेको थियो । यो कुराको पुष्टी तथ्यांकले पनि गर्छ ।

किनभने गत आर्थिक वर्षमा २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको थियो भने २५ अर्ब २ करोड रुपैयाँ बराबरको कच्चा पाम तेल आयात भएको थियो ।

तर, अहिले भारत र मलेशियाबीचको चिसोपन हटेको छ । र, भारतले पाम र सोयाविन तेलको कच्चा पदार्थ आयातमा भन्सार करिब शुन्य गरेको छ । 

सोही कारण नेपालमा सोयाविन र पाम तेलको कच्चा पदार्थको आयात निकै घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको सोयाविन तेलको कच्चा पदार्थ आयात भएको छ भने १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको पाम तेलको कच्चा पदार्थ आयात भएको छ ।

आयात कम हुँदा निर्यात पनि घटेको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ४१ अर्ब ४० करोड रुपैयाँ बराबरको सोयाविन तेल भारत निर्यात भएको थियो भने २२ अर्ब ३६ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो । यो तथ्यांक गत आर्थिक वर्षको फागुन मसान्तसम्मको हो ।

चालु आर्थिक वर्षमा सोयाविन र पाम तेलको निर्यात पनि ह्वात्तै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत फागुन मसान्तसम्ममा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सोयाविन तेल भारत निर्यात भएको छ भने ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ ।

नेपाललाई नोक्सान भयो कि भएन ?

सोयाविन र पाम तेलको कच्चा पदार्थ विदेशबाट आयात गरी भारत निकासी हुने गरेको थियो । सामान्य रुपमा हेर्दा विदेशबाट सामान ल्याएर विदेश नै पठाउने गरेकोले नेपाललाई खासै नोक्सान नभएको जस्तो पनि देखिन्छ ।

तर, उद्योगीहरु भने कच्चा पदार्थ ल्याएर नेपालमा तयारी सोयाविन र पाम तेल बनाउँदा ३५ प्रतिशतको हाराहारीमा मूल्य अभिबृद्धि हुने गरेको बताउँछन् ।

‘पाम र सोयाविनको कच्चा पदार्थ ल्याएर तयारी तेल बनाइ भारत निकासी गर्दा ३० देखि ३५ प्रतिशत भ्यालु एड (मूल्य अभिबृद्धि) हुन्थ्यो, सोझो हिसावले हेर्दा पनि यसपाली घटेको ४७ अर्बको ३० देखि ३५ प्रतिशत घाटा नेपालले बेहोरेको देखिन्छ,’ एक व्यवसायीले भने ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार