मधेसी जनताको अधिकार दिलाएर छाड्छौँ : अध्यक्ष राउत

बुधबार, चैत ८, २०७९

कलैया– जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा.सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गरुेका छन् । 

बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उनले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गरे ।  

मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गराउन, घरघरमा रोजगारी सिर्जना गर्न एवं किसानलाई सहुलियतमा मलखाद उपलब्ध गराउन राज्य संवेदनशील हुनुपर्ने बताए । 

जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको भन्दै उनले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्